जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।

देशको वर्तमान परिस्थितिमा विभिन्न विषयमा विचार(विमर्श गरी निष्कर्षमा पुग्नुपर्ने भएको हुँदा बैठक राखिएको अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले आज जारी गरेको सूचनामा उल्लेख छ।

जेठ ८ र ९ गते पार्टी केन्द्रीय कार्यालय बालकुमारी ललितपुरमा बैठक बस्न लागेको हो। बैठक बिहान ११ बजेदेखि हुनेछ।

जसपाभित्र पछिल्लो समय अध्यक्षद्वय ठाकुर र यादव पक्षबीच विवाद छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने प्रस्तावमा ठाकुर पक्ष तटस्थ बसेको थियो।

यसैबीच जसपाको ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको खबर बाहिरिएको थियो।