राधेको ट्रेलरलाई डिजास्टर प्रतिक्रिया

बलिउड सुपरस्टार सलमान खान अभिनीत बहुप्रतिक्षीत फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाई’ को ट्रेलर बिहीवार सार्वजनिक भयो । एक्सनले भरिएको ट्रेलरलाई दर्शकले निकै रुचाएका छन् । भारतसहित विभिन्न देशमा फिल्मको ट्रेलरले यूट्युब ट्रेन्डिङको पहिलो स्थान कब्जा गरेको छ । तर, केही व्यक्तिले सामाजिक सञ्जालमा फिल्मलाई ‘बाइकट’ गर्न भन्दै अभियान नै चलाएका छन् ।

ट्रेलर रिलिज भएसँगै ट्विटरमा ‘बाइकट राधे’ ट्रेन्ड सुरु भएको छ । फिल्मको कहानीमा नयाँपन नभएको भन्दै दर्शक आक्रोशित भएका हुन् । ट्रेलरमा सलमान र दिशा पाटनी ‘सीटी मार’ गीतमा डान्स गर्दै देखिएका छन् ।

यो गीतलाई अल्लू अर्जुन स्टारर साउथ फिल्म ‘डिजे’ बाट कपी गरिएको हो । गीतमा सलमान र दिशाको नृत्य नसुहाएको भन्दै दर्शक निर्माण टिमसँग भड्किएका छन् ।

एक सामाजिक सञ्जाल प्रयोगकर्ताले ट्विटरमा लेखेका छन्, ‘अल्लु अर्जुन र पूजा हेगडेको ‘डिजे’ फिल्मको गीत ‘सीटी मार’ को हिन्दी रिमेक सलमान खानको ‘राधे’ मा । अब बलिउडले गीत समेत कपी गर्न सुरु गरेको छ ।

यो इन्डस्ट्रीमा अब केही मौलिकपन बाँकी रहेन ।’ ‘सीटी मार’ लाई बिगारेको भन्दै केही दर्शकले अल्लू अर्जुनसँग बलिउडको तर्फबाट माफी समेत मागेका छन् ।

‘राधे’ लाई प्रभु देवाले निर्देशन गरेका हुन् । फिल्ममा सलमान स्पेशल कप राधेको भूमिकामा छन्, जसलाई मुम्बईमा फैलिएको ड्रग्सको धन्दा र क्राइम रेटको न्यूनिकरणको जिम्मेवारी सुम्पिएको हुन्छ ।

इदको छेको पारेर यही १३ मेमा थिएटरसँगै डिजिटल प्लेटफर्ममा एकसाथ रिलिज हुन लागेको फिल्ममा रणदीप हुड्डा, गोविन्द नामदेव र ज्याकी श्राफको पनि अभिनय रहेको छ ।